
बैैंकिङ खबर/सिद्धार्थ बैंकले विदेशी संस्थाबाट ७ अर्ब कर्जा भित्र्याएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सिद्धार्थ बैंकलाई ५.५ करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएको हो । सो बैंकमार्फत वित्तीय पहुँच वृद्धि गर्ने लक्ष्यस्वरुप आईएफसीले ऋण प्रदान गरेको हो ।
नेपालको वित्तीय संस्थामा आईएफसीले दिएको यो रकम अहिलेसम्मकै ठूलो हो । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले यसले नेपालमा साना तथा मझौला उद्यम (एसएमई)हरूमा वित्तीय लगानी आवश्यकताको खाडललाई पूर्ति गर्दै अर्थतन्त्रको दिगो विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
यो रकमबाट बैंकले महिलाको स्वामित्वमा सञ्चालित साना–मझौला उद्यमहरूमा लगानी बढाउनेछ । महामारी पश्चात तिनीहरूको उत्थानशीलता वृद्धि गर्नुका अलावा यो परियोजनाले ९ हजारदेखि १५ हजार व्यक्तिका लागि रोजगारी सिर्जनामा मद्दत गर्ने बैंकको दाबी छ ।
साथै, ऋणको १० प्रतिशत जलवायु वित्तसँग सम्बन्धित क्षेत्रका लागि विनियोजन भएको छ, जसअन्तर्गत विद्युतीय सवारीसाधन, जलवायु अनुकुलयुक्त अत्याधुनिक कृषि एवम् ऊर्जा कुशलता लगायतका क्षेत्रहरूमा लगानी हुने कँडेलले जानकारी दिए ।
यो लगानीले पर्याप्त सेवा नपुगेका साना–मझौला उद्यमलाई सहयोग गर्नुका साथै वित्तीय क्षेत्रमा तरलता आकर्षण गर्न मद्दत पुग्ने नेपालका लागि आईएफसीका राष्ट्रिय प्रतिनिधि बाबाकर एस फायले बताए । आईएफसीले राष्ट्रिय रणनीतिको हिस्साका रूपमा सन् २०१९ यता नेपालको वित्तीय क्षेत्रमा १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको जनाएको छ ।



