
बैंकिङ खबर/जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई ८० अर्ब कर्जा दिएको छ । पछिल्लो सयम यसरी बीमालेख धितो राखेर दिने कर्जा ३२.३६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १९ अर्ब ६५ करोड १७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा ६० अर्ब ७२ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
जीवन बीमालेख खरिद गरेका बिमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ । बीमितले बिमा कम्पनीमा बिमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन्।
तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बिमितले आफ्नो बीमालेख धितोमा राखि २९ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको तुलनामा जुन ३९.१० प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्मको अवधिमा कम्पनीले बीमालेख धितोमा राखेर २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा दिएको थियो ।
एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी २१ अर्ब ४९ करोड २२ लाख रुपैयाँ कर्जा लिएका छन् । नेशनल लाइफका बीमितले बीमालेख धितो राखी १० अर्ब ५ करोड र एशियन लाइफका बिमितले ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ कर्जा लिएका छन् ।
प्राइम लाइफका बीमितले २ अर्ब ६९ करोड, र सूर्यज्योति लाइफका बीमितले ३ अर्ब ४९ करोड, मेट लाइफका बीमितले १ अर्ब ४९ करोड, गुराँस लाइफका बीमितले १ अर्ब ४७ करोड, यूनियन लाइफका बिमितले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएका छन्।
सानिमा रिलायन्सले ९९ करोड ३२ लाख, सन नेपाल लाइफले ८५ करोड ८८ लाख रुपैयाँ, प्रभु लाइफले ५८ करोड २१ लाख, आइएमई लाइफले ५६ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफले बीमालेख धितोमा राखी ४८ करोड ४७ लाख, रिलायबल नेपाल लाइफले २६ करोड ५४ लाख र महालक्ष्मी लाइफले २९ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।




