
बैंकिङ खबर/लघुवित्त संस्थामा बढेको जोखिम न्यूनीकरण गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । देउखुरी लघुवित्त कर्मचारी मञ्चले लालमिटयामा आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले लघुवित्तमा पनि पछिल्लो समय जोखिम बढेकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
देउखुरी लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा प्रहरी चौकी मसुरियाका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक निम बहादुर खत्रीको प्रमुख आथित्यता र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत कृष्ण बहादुर अधिकारीको विशिष्ट अथितिमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समिति तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अहिले देखिएको लघुवित्त संस्थाहरु प्रतिको दृष्टिकोण, बचत, कर्जा,पारिवारिक बजेट अन्य धेरै विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत अधिकारीले भने,‘कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै पनि बिर्सनु हुँदैन । आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ ।’ सर्वसाधारणले खाइ–नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लघुवित्तले ऋण दिएको उनले बताए ।
लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धी भएको उनले बताए । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ । तर लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न उनले सचेत समेत गराए ।
कार्यक्रमको शुभारम्भमा लघुवित्तको विकासक्रमको बारेमा शिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड लालमतिया शाखा प्रमुख खिमानन्द तिवारी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड पाखापानीका शाखा प्रमुख रण बहादुर चन्द र फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नर्तिका शाखा प्रमुख रिसुलाल चौधरीले सुरूवाती चरणबाट लघुवित्तको महत्व के कस्तो थियो ?, अहिले कस्तो छ यस बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी चौकी मसुरियाका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक निम बहादुर खत्री, राप्ती गाउँपालिका वडा नम्वर २ वडा सदस्य टेक बहादुर रावत लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख शिला जिसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाँका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले गरेका थिए ।




