
बैंकिङ खबर/राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले कोरोना महामारीपछि करिब १५ लाख युवा देशबाहिर जाँदा बजारमा माग घटेको बताएका छन् । मौद्रिक नीतिको तेस्रो समीक्षाका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले चालू आर्थिक वर्षमा १६ खर्ब ५० अर्ब रुपैयाँको आयात हुन सक्ने र आगामी दिनमा महँगी पनि कम हुँदै जाने बताए ।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले अर्थतन्त्र सुधार भएको श्रेष्ठको भनाइ छ ।
चालू खाताको घाटा कम भएपनि चैत मसान्तसम्म ५२ अर्ब रुपैयाँले चालू खाता घाटामा छ । तर, वैदेशिक अध्ययनमा जाने विद्यार्थीका कारण सेवा खाता पनि घाटामा छ,’ श्रेष्ठले भने, ‘९ महिनामा विदेश पढ्न जाने विद्यार्थीले ६७ अर्ब रुपैयाँ खर्च गरेका छन् । आगामी दिनमा फेरि आयात बढ्यो भने विदेशी मुद्राको सञ्चितिमा प्रभाव पर्न सक्ने भएकाले सचेत हुनेपर्ने हाम्रो धारणा हो ।’
स्थानीय सरकारको निक्षेप गणना गरेकाले सीडी रेसियो ८५ प्रतिशतमा आएको भन्दै उनले गत वर्षभन्दा अर्थतन्त्र सुधार भए पनि सहज अवस्थामा नपुगेको बताए । वास्तविक ब्याजदर (मुद्रास्फीति र निक्षेपको ब्याजदर अन्तर) गत असोजदेखि बचतमा जाँदा शोधनान्तर स्थिति बचतमा पुग्नुका साथै विदेशी मुद्राको सञ्चितमा पनि सुधार भएको श्रेष्ठले बताए ।




