Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गामा बैंकहरूको लगानी ८२ प्रतिशत घट्यो

२०८० बैशाख २० गते

बैंकिङ खबर/घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घटेको छ । एक वर्षको बैंकहरुको कर्जा लगानी ८२ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्र (रियल इस्टेट)मा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष सोही अवधिमा घरजग्गा क्षेत्रमा २९ अर्ब ६ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो।

आवासीय घरजग्गामा ८ महिनामा २ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ प्रवाह भएको छ । गत आर्थिक वर्षको सो अवधिमा ४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । यो आर्थिक वर्षको ८ महिनामा व्यापारिक कम्प्लेक्समा १ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी भएको छ । जबकि गत वर्ष सोही अवधिमा ५ अर्ब ७० करोड ९५ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

अन्य जग्गा खरिद र प्लटिङमा २ अर्ब १८ करोड ५१ लाख कर्जा ऋणात्मक छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा पहिले नै प्रवाह गरेको रकम अहिले उठाउँदा ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा पर्याप्त कर्जा प्रवाह हुन नसक्दा ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ । जग्गा खरिद र प्लटिङमा गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ८८ करोड ९९ लाख ऋण प्रवाह भएको राष्ट्र बैकंको तथ्यांक छ ।

चालु आर्थिक वर्षको ८ महिनामा ९ अर्ब ४८ करोड २४ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (डेढ करोडसम्म) प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ३९ अर्ब ४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।