बैंकिङ खबर/नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ। महासंघका नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्य समितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवम् स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्बन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो।
मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। चेम्बर र महासंघबीचको सम्बन्ध स्थापना कालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नु पर्नेमा जोड दिए।
मुलुकको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेका बेला अख्तियार सम्बन्धी विधेयकले निजी क्षेत्रमा थप अन्यौल र मनोबल गिराउने काम गरेको अध्यक्ष मल्लको भनाइ छ। बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
महासंघका अध्यक्ष ढकालले पनि आर्थिक मुद्दालाई सम्बोधन गर्न संयुक्त पहल गर्नु पर्नेमा जोड दिए। विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने ढकालको भनाइ छ।
मौद्रिक नीतिका केही नीतिगत व्यवस्थाहरू हेरफेर गरेर भएपनि ब्याजदर घटाउन पहल गर्नुपर्ने ढकालले बताए। यसका लागि चेम्बर र महासंघले संयुक्त पहल गर्नुपर्ने उनको छ।