
बैंकिङ खबर/राष्ट्र बैंकले पुनर्कर्जामा कसिलो नीति तय गरेसँगै लगानीमा रहेको पुनर्कर्जा पनि घटेको छ । गत फागुन मसान्तसम्म करिब ७ अर्ब १२ करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ । जबकि २०७८ फागुनसम्म करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको थियो ।
०७९ जेठ यता राष्ट्र बैंकले पुनर्कर्जा रोकेको छ । नयाँ कर्जा प्रवाह नभएको र पुरानो असुली हुँदै गएकाले लगानीमा रहेको पुनर्कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ । गत फागुनदेखि राष्ट्र बैंकले नीति परिमार्जन नै गरेर प्रतिकूल परिस्थितिमा मात्र पुनर्कर्जा प्रवाह गरिने घोषणा गरेको छ ।
राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ (पाँचौं संशोधन)मार्फत पुनर्कर्जा वितरणमा कडाइ गरेको हो । भूकम्प, कोभिड संक्रमणलगायत असामान्य अवस्थामा ठूलो परिमाणमा प्रवाह गरिएको पुनर्कर्जा व्यवस्थालाई मौद्रिक नीतिको गैरपरम्परागत उपकरण मान्दै अर्थतन्त्रको समग्र अवस्था, प्राकृतिक प्रकोप, महामारीलगायत अन्य आन्तरिक तथा बाहृय कारणले अर्थतन्त्रमा उत्पन्न प्रतिकूल परिस्थितिमा मात्र वितरण गरिने भएको हो ।
अर्थतन्त्र मन्दीमा रहेकाले पुनरुत्थानका लागि पुनर्कर्जाको आकार र अवधि बढाउनुपर्ने माग निजी क्षेत्रले गरिरहेका बेला राष्ट्र बैंकले कार्यविधिमार्फत यसमा कडाइ गरेको हो ।
‘अर्थतन्त्रको अवस्था, प्राकृतिक प्रकोप, महामारी, आन्तरिक तथा बाहृयलगायत कारणले अर्थतन्त्रमा उत्पन्न प्रतिकूल परिस्थिति, बैंकिङ प्रणालीमा रहेको तरलताको स्थिति एवम् निजी क्षेत्रमा प्रवाह भएको कर्जाको प्रवृत्तिजस्ता अर्थतन्त्रका समष्टिगत परिसूचकको विश्लेषणपछि आर्थिक गतिविधि विस्तारमा सहजीकरण गर्नुपर्ने अवस्थामा मात्र पुनर्कर्जा उपलब्ध हुनेछ,’ पुनर्कर्जा कार्यविधि ०७७ पाँचौं संशोधनमा भनिएको छ, ‘समग्र अर्थतन्त्र वा कुनै खास क्षेत्रका उद्योग व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धन गर्न विभिन्न समय अन्तरालमा वा अलग अलग किस्तामा उपलब्ध गराउने गरी राष्ट्र बैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराउन सक्नेछ ।’
