
बैंकिङ खबर/बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुवित्त बीमा कम्पनीहरूलाई स्थानीय स्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धा र इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । विभिन्न चारवटा लघुबिमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूलाई मंगलबार शपथ गराउने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराए।
यसैक्रममा अध्यक्ष सिलवालले कम्पनीको समग्र जिम्मेवारी सञ्चालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्नेबारे ध्यानाकर्षण गरे।
शपथ ग्रहण कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल र लघुबिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।


