Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बढ्यो घरजग्गा कारोबार

२०८० बैशाख ४ गते

बैंकिङ खबर/चैत महिनामा घरजग्गाको कारोबारमा वृद्धि भएको छ । चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएका छन् । यो लिखत पास चालु आर्थिक वर्ष २०७९÷८०कै उच्च हो ।
बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो ।

गत असोजमा मासिक लिखत पास करिब २६ हजारसम्म झरेपछि पुनः सुस्त गतिमा वृद्धि हुँदै आएको थियो ।भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुनमा देशभर ४० हजार ७३४ कित्ता जग्गाको लिखत पारित भएका थए । चैत महिनामा भने झण्डै ९ हजारले बढेको छ ।

गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

गत वर्ष चैत महिनामा लिखत पासको संख्या ७० हजार ८२९ थियो । तर, त्यसपछि ह्वात्तै घटेको जग्गाको कारोबार चालु आर्थिक वर्षमा मासिक २६ हजारसम्म लिखत पास हुने अवस्थासम्म झरेको थियो ।
गत माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९र भदौमा ३४ हजार ७२० लिपत पारित भएको थियो ।

गत साउनमा ३३ हजार ७३४, असारमा ४७ हजार २७, जेठमा ५४ हजार ५११ र वैशाखमा ४४ हजार ८०३ वटा जग्गाका लिखत पास भएको विभागको तथ्यांकमा देखिन्छ । यसले वैशाखबाट घट्न थालेको घरजग्गा कारोबार अब विस्तारै बढ्दै जाने संकेत देखिएको छ ।