
बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘अहिले बैंकर्स एसोसिएसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।’ यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ भन्दै अर्थमन्त्रीले भने, उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो । यस्तै, उनले निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ ।
तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए । उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो ।
आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्यो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।



