April 17th, 2023

गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही फिर्ता गर्ने तयारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाही फिर्ता लिने भएको छ । अदालतबाट कारवाहीमा रोक लागे पनि मुद्दा किनारा भने लागिसकेको छैन।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएका थिए । नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था अनुसार, छानबिन गर्न समिति बनाउनेबित्तिकै गभर्नर निलम्बित हुन्छन्। नीतिगत तथा व्यक्तिगत आरोपहरु लगाउँदै गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाइएको थियो।

निलम्बनपछि अधिकारी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले उनीमाथि छानबिन गर्ने कानुनी आधार नपुगेको भन्दै अन्तरिम आदेशबाट गभर्नरमा स्थापित गरिदिएको थियो। सरकारले गरेको कारवाहीको मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी नै छ। सर्वोच्चले अन्तिम फैसला दिनुअघि नै सरकारले गभर्नर अधिकारीमाथि गरेको कारवाहीको निर्णय फिर्ता गर्न लागेको हो।