April 12th, 2023

बैंकको ऋण तिर्दिन भन्ने र कालोमोसो दल्नेलाई छाड्दैनौंः प्रधानमन्त्री


बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नतिर्ने र कर्मचारीलाई कालोमोसो दल्ने अभियान चलाइरहेका विवादास्पद मेडिकल कजेल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को टोलीसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । केही महिनायता दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने र ऋण असूलीमा आएका बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अराजक अभियान चलाइरहेका छन् ।

यस्तो अभियान चलाउनेलाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्डले गृहसचिवलाई सोमबारै निर्देशन दिएका छन् । ब्याजदरको समस्या र समयमा नै ऋण फिर्ता गर्न समस्या प¥यो भने सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

ब्याजदरका कारण कसैलाई मर्का परेको छ भने सरकारले सुन्छ, उनीहरुलाई राहत हुनेगरी काम गरिरहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले यसो भनिरहँदा दुर्गा प्रसाईंको नाम भने लिएनन् । बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।