
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालले लघुवित्त क्षेत्रमा आएका समस्यामा सञ्चालकहरु नै दोषी रहेको बताएका छन् ।
लघुवित्त सञ्चालकहरुको संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नाफा कमाउनको लागी लघुवित्त सञ्चालकले व्यवस्थापकलाई तनाव दिएको बताए । उनले भने, ‘बैंकको शेयर ४–५ सय हुँदा लघुवित्तको शेयर झण्डै ३ हजार पुगेको छ । ३ हजारमा शेयर किनेर सञ्चालक बन्ने अनि नाफा कमाउनको लागी व्यवस्थापकलाई तनाव दिने तपाईहरु नै होइन् ?’
उनले लघुवित्तले ऋण नविकरणको नाममा बदमासी गरेको बताए । सुन्दा अप्रिय लाग्न सक्छ भन्दै उनले लघुवित्तका सञ्चालकहरुले रिन्युको नाममा सर्भिस चार्ज लिएको बताएका छन् ।
यस्तो कार्य उपयुक्त नभएकाले तत्कालै यसलाई बन्द गर्नुपर्ने उनको भनाइ छ । त्यतिमात्र नभएर उनले लघुवित्तका सञ्चालकहरु संस्थाको पैसाबाट देशविदेश घुम्ने गरेको गम्भिर आरोप लगाएका छन् । संस्थाका नाममा महंगो गाडी किनेर संस्थाको पैसालाई दुरुप्रयोग गरेको कार्यकारी निर्देशक नेपालले बताए ।



