Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर्स र अर्थमन्त्रीबीच छलफल: ब्याजदर घटाउन अर्थमन्त्रीले लिए चासो

२०७९ चैत्र २० गते

बैंकिङ खबर/ नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्सहरुसँग सोमबार छलफल गरेका छन् । डा. महतले उच्च ब्याजदरले समस्यामा रहेका व्यवसायीको नैराश्यता हटाउँदै मनोबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा संघका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितको टोली सहभागी थिए ।

अर्थमन्त्री महतले ब्याजदर तथा तथा नगद प्रवाहका कारण समस्यामा रहेका व्यवसायीको गुनासो सुनुवाइ गर्न समेत छलफलमा सहभागी बैंकर्ससँग आग्रह गरे ।

उनले ब्याजदर घटाउन सक्ने अवस्था छ कि छैन भनेर जिज्ञासा राख्दै सकिने अवस्था भए व्यवसायीको माग सम्बोधन गर्न भने ।

छलफलका क्रममा अर्थमन्त्री महतले बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । छलफलमा बैंकरहरुले अर्थतन्त्रको अवस्था बारे अवगत गराउँदै तरलता र ब्याजदर बारे ब्रिफिङ गरेका थिए।

उनीहरुले अर्थतन्त्रसँगै बैंकिङ क्षेत्र पनि साँघुरिएको बताए । जसका लागि मनोबल बढाउने कार्य गर्न अर्थमन्त्रीलाई उनीहरुले आग्रह गरेका छन्। तरलता सहज गर्न बैंकरहरुले सरकारी विकास खर्चलाई तीव्रता दिनुपर्ने अर्थमन्त्रीलाई सुझाएका छन्।