
बैंकिङ खबर/नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन्। उनले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे।
नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए। सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा व्रिफिङ पनि गरेका थिए। गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउनु सुझाव दिए।
यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको भनाइ थियो। सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ।
सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ। अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए। यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उनले अर्थमन्त्री समक्ष सुझाव दिए।
