
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अदालतले ब्रोकर लाइसेन्सको मुद्दामा निर्णय गरिदिए अर्को नियमावली ल्याएर भए पनि ब्रोकर लाइसेन्स दिने बताएका छन्। बुधबार काठमाडौंको र्याडिसन होटलमा आयोजित ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालमा १०० वटा ब्रोकर आवश्यक रहेको बताए । एकै खालका ब्रोकर नभई फरक किसिमका १०० वटा ब्रोकर चाहिने बताएका हुन्।
उनले अदालतले ब्रोकर लाइसेन्सको फैसला नगर्दा सात महिनादेखि पूँजी फ्रिज भएको बताएका छन्। लगानीकर्ताको संरक्षण, लागत कम र पाउने सेवाको गुणस्तर बढाउन सके बजार आफैं बलियो हुने उनको भनाइ छ । यसका लागि ब्रोकर बलियो हुनुपर्ने उनले बताए । बलियो ब्रोकरका लागि मापदण्ड बलियो बनाउने र मापदण्ड पुगेकाले अनुमति पाउनुपर्ने उनको भनाइ छ । यसलाई समेत समय सीमा तोकेर काम गर्नुपर्ने उनले बताए । बोर्डले सुशासन, उत्तरदायी, पारदर्शीता र स्वच्छ प्रतिस्पर्धाको नीति लिएको भन्दै यसलाई लागु गर्दा बजार आफैं सुधार हुने अध्यक्ष हमालको भनाइ छ ।


