२०७९ चैत्र १४ गते

विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून हुन सक्ने विश्व बैंकको चेतावनी

बैंकिङ खबर/विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून हुन सक्ने जनाएको छ । विश्व बैंकले आफ्नो प्रतिवेदनमा उत्पादकत्व र श्रम आपूर्ति प्रवद्र्धन, लगानी प्रवद्र्धनसँगै सेवा क्षेत्रको क्षमतालाई राम्रोसँग प्रयोग गर्नुपर्ने जनाएको छ। प्रतिवेदनमा कोभिड–१९ र रुस–युक्रेनपछिको सम्भावित उत्पादन वृद्धिदरको मूल्यांकन गरिएको छ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमा विगत तीन दशकमा विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने प्रायः सबै आर्थिक शक्ति कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस गिरावटका कारण २०२२–२०३० बीचको औसत विश्वव्यापी सम्भावित जीडीपी वृद्धिमा कमी आउने सम्भावना छ।

यो प्रवृत्ति विकसित अर्थतन्त्रमा मात्र सीमित रहने छैन। विकसित देशहरुमा पनि वृद्धि सुस्त हुने अपेक्षा गरिएको छ। बाँकी समयमा यी देशको वार्षिक वृद्धिदर ४ प्रतिशत हुनसक्छ। यदि विश्वव्यापी संकट आयो भने स्थिति अझ खराब हुन सक्छ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले जुन मन्दीको कुरा गरिरहेका छौँ यदि अर्को विश्वव्यापी वित्तीय संकट देखा पर्यो भने तीव्र हुन सक्छ। विशेषगरी यदि त्यो संकट विश्वव्यापी मन्दीको साथमा छ भने यो मन्दीले वृद्धिको सम्भावनालाई असर गर्न सक्छ।’ विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले यो विश्व अर्थतन्त्रका लागि ‘लस्ट डिकेड’ साबित हुनसक्ने चेतावनी दिएका छन्।