
बैंकिङ खबर/ तीन प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याएसँगै ३ प्रतिशत ब्याजमा कर्जा पाइने भएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रमको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
‘स्टार्टअप उद्यम’ भन्नाले उद्यमशील समूहले वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण र सिर्जनशील सोचको प्रयोग गरी व्यावसायिक रूपमा सञ्चालन भई स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसायलाई जनाउने कार्यविधिले उल्लेख गरेको छ ।
कार्यविधि कार्यान्वयनमा ल्याएसँगै स्टार्टअप उद्यम गर्नेले ३ प्रतिशत ब्याजमा बढीमा २५ लाख रुपियाँसम्म कर्जा पाउने भएका हुन् । यस्तो कर्जा सात वर्षसम्मका लागि उपलब्ध गराइनेछ ।
नवप्रवद्र्धन र सिर्जनशील व्यावसायिक सोचलाई कार्यान्वयन गर्न स्टार्टअप उद्यम व्यवसायमार्फत रोजगारी सिर्जना गरी वस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने मुख्य लक्ष्यसहित कार्यविधि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन, छनोट र प्रवद्र्धन उद्योग विभागले गर्नेछ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले एकरदुई दिनमै स्टार्टअप उद्यम गर्ने उद्यमीलाई कर्जा लिने प्रस्ताव पेस गर्न सार्वजनिक सूचना निकालिने बताए ।
स्टार्टअप कोष कार्यक्रमका लागि मन्त्रालयले २५ करोड रुपियाँ विनियोजन गरेको छ । सोही रकम स्टार्टअपका लागि खर्च गरिनेछ । मन्त्रालयले छुट्याएको रकमबाट प्रतिव्यक्ति २५ लाख रुपियाँको दरले कर्जा दिँदा पनि एक सय जना लाभान्वित हुनेछन् ।
मन्त्रालयले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि विनियोजन गरेको रकम समयसमयमा नेपाल राष्ट्र बैङ्कलाई उपलब्ध गराउनेछ । राष्ट्र बैङ्कले छुट्टै खाता खोलेर राख्ने त्यो रकम स्टार्टअप उद्यम कर्जा प्रवाह कोषका रूपमा रहनेछ । कार्यविधिमा उल्लेख भएअनुसार उद्यमीले तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्नेछ । परियोजना समितिमा पेस भएको ३० दिनभित्र मूल्याङ्कन र छनोट गरी कर्जाका लागि सिफारिस गर्नुपर्नेछ ।
कर्जाका लागि सिफारिस भएको परियोजनाको विवरण उद्योग विभागले आफ्नो वेबसाइटमा सार्वजनिक गरी स्वीकृत बजेट उद्यमीलाई दिन नेपाल राष्ट्र बैङ्कलाई पत्र पठाउनुपर्छ । राष्ट्र बैङ्कले कर्जा प्रवाह गर्ने बैङ्क तोकिदिनेछ ।
स्टार्टअप उद्यम वा व्यवसाय स्थापना भएको सात वर्ष ननाघेकालाई स्टार्टअप कर्जा दिइने कार्यविधिमा उल्लेख छ । यस्तो ऋण पाउन चुक्ता पुँजी ५० लाख रुपियाँभन्दा बढी नभएको, उद्यमको वार्षिक कुल आय ५० लाख रुपियाँभन्दा बढी नभएको, स्थिर पुँजी (घरजग्गाको मूल्यबाहेक) दुई करोड रुपियाँभन्दा बढी नभएको र उद्यममा पूर्णकालीन कामदारको सङ्ख्या १० जनाभन्दा बढी नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कले कार्यविधिबमोजिम कर्जा प्रवाह गर्ने बैङ्क तोक्नेछ । उद्यमीलाई दुई किस्तामा कर्जा प्रवाह गर्नुपर्नेछ । पहिलो किस्ताबापत स्वीकृत कर्जा रकमको ५० प्रतिशत रकम प्रवाह गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार बैङ्कले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोका रूपमा राख्नेछ ।
कर्जा प्रवाह गर्नुअघि बैङ्कले कर्जा प्राप्त गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, कर्जा चुक्ताका लागि साँवा फिर्ता र ब्याज भुक्तानी अवधि तथा प्रक्रियासमेत उल्लेख गरी सिफारिस गरेको मितिले तीन दिनभित्र सम्झौता गर्नुपर्नेछ । कर्जा रकमलाई परियोजना प्रस्तावमा उल्लेख गरिएबमोजिमको उद्देश्यमा मात्र प्रयोग गर्नु, कर्जाको साँवा र ब्याजसहितको किस्ता रकम चुुक्ता गर्ने,आफूले गरेको स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन पेस गर्ने, नेपाल सरकारको सहुलियतपूर्ण स्टार्टअप कर्जा सुविधा प्राप्त उद्यम लेखिएको बोर्ड राख्ने उद्यमीको दायित्व रहेको छ ।
कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावार), पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्योग व्यवसाय गर्नेले स्टार्टअप ऋण पाउने कार्यविधिमा उल्लेख छ ।
यसैगरी शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्य, अटोमोबाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरण उद्योग सञ्चालन गर्ने उद्यमीले पनि कर्जा पाउने कार्यविधिमा उल्लेख छ ।




