
बैंकिङ खबर/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका र युरोपले जस्तै बैंकिङ संकट भोग्नबाट बचाउन विज्ञको सहयोगमा बेलैमा मौद्रिक नीति बनाउनु पर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरुले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढन म अनुरोध गर्दछु,’ उनले भने, ‘राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपसवल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन । त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन । दीर्घकालीन रुपबाटै निकास निस्कने गरी सरकारले काम गरोस् ।’
उनले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए । नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने पनि बताए ।
नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढनुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराए ।




