March 22nd, 2023

चाँदीका वस्तु निकासीमा राष्ट्र बैंकले जारी गर्‍यो यस्तो व्यवस्था

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चाँदीका वस्तु निकासी गर्ने व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्ने भएको छ। राष्ट्र बैंकको विदेशी विनियम व्यवस्था विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७८ मा संशोधन, परिमार्जन र थप गरी चाँदीको वस्तु निकासी गर्ने व्यवसायीलाई विभिन्न सटही सुविधा प्रदान गर्ने व्यवस्था थप गरिएको हो। चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निम्नबमोजिम सटही सुविधा पाउनेछन्–

निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश।
बुँदा (१) को कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ। सोका लागि प्रतिपटक अमेरिकी डलर ६० हजारको सटही सीमा लागू हुने छैन।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सोअन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्नेछ।
सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेकोसम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ।
चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा मास्टर एयरवे बिलसमेत संलग्न हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। हाउस एयरवे बिल/बिल अफ लेडिङबाट चाँदी आयात गर्न भने पाइने छैन।