Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रु.७ अर्ब ८६ करोड पुनरकर्जा लगानी

२०७९ चैत्र ८ गते

बैंकिङ खबर/ २०७९ माघ मसान्तमा रु.७ अर्ब ८६ करोड पुनरकर्जा लगानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७९/८० को सात महिनाको तथ्यांकमा माघ मसान्तसम्ममा १ लाख ४८ हजार २ सय ९५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ३३५ ऋणीलाई प्रवाह भएको रु.१४२ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार १ सय ५ महिला उद्यमीलाई प्रवाह भएको रु.६५ अर्ब १९ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ५५ ऋणीको रु.३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ माघ मसान्तमा रु.८८ करोड ५३ लाख बक्यौता रहेको छ ।

अन्तर–बैंक कारोबार

आर्थिक वर्ष २०७९/८० को सात महिनामा वाणिज्य बैंकहरुको रु.२०५६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.२०४ अर्ब १२ करोड गरी कुल रु.२२६० अर्ब ५२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१८९३ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२३६ अर्ब ९३ करोड गरी कुल रु.२१३० अर्ब २१ करोडको अन्तर बैंक कारोबार भएको थियो ।