March 22nd, 2023

विदेशमा रहेका नेपाली श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि हुन पाउने

बैंकिङ खबर/ सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा योजना शुरु गरेको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य सुभारम्भ गरेका हुन् ।

इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ। प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गरे ।

प्रधानमन्त्रीले परिचयपत्र हस्तान्तरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि आवेदन दिन पाउने बाटो खुला भएको छ ।

वैदेशिक रोजगारमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा प्राप्त हुने गरी कार्यविधि बनाइएको छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेट्ने गरी ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७९’ ल्याएको छ । वैदेशिक रोजगारीमा रहेकाहरू अनलाइनबाटै आबद्ध हुन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।