
बैंकिङ खबर/वाणिज्य बैंकको कर्जा र निक्षेप दुवै घटेको छ । वाणिज्य बैंकहरुको निक्षेप ४ दिनमा १० अर्ब र कर्जा ४ अर्बले घटेको हो । मंगलबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रहेको छ भने शनिबार ४७ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ दिनमा घटेर ४२ खर्ब ७५ अर्बबाट ४२ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कुल निक्षेप ५४ खर्ब १३ अर्बबाट ५४ खर्ब ४ अर्बमा झरेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब १७ अर्बबाट ४८ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ । कर्जा–निक्षेप (सीडी) अनुपात यो अवधिमा सामान्य बढेको छ । मंगलबार ८५.६ प्रतिशत रहेको कर्जा–निक्षेप अनुपात शनिबार ८५.७१ प्रतिशत भएको छ । कर्जा प्रवाहको अनुपातमा निक्षेप धेरै घटेपछि सीडी सामान्य बढेको देखिएको हो ।
