२०७९ चैत्र ७ गते

मेटियो क्रेडिट स्वीस बैंकको अस्तित्व

बैंकिङ खबर/बैकिङ क्षेत्रमा १६७ वर्ष योगदान पुर्‍याएको क्रेडिट स्वीस बैंक संकटग्रस्त अवस्थामा पुगेपछि युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस) ले अधिग्रहण गरेको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा योगदान पुर्‍याउने ३० बैंकहरुको सूचीमा पर्ने क्रेडिट स्वीस टाट पल्टिने अवस्थामा पुगेपछि स्वीस सरकारले ५४ अर्ब डलर सहयोग गरी हस्तक्षेप गरेको थियो ।

सरकारले गरेको उक्त सहयोग पर्याप्त नभएपछि अन्तराष्ट्रिय बैंकिङ प्रणालीमा समस्या उत्पन्न हुन नदिन स्वीस सरकारले आपत्कालीन बैठक घोषणा गरेको थियो । बैठक पछि क्रेडिट स्वीस बैंकलाई स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक युबीएसले अधिग्रहण गर्ने भएको हो ।

सन् १८५६ मा स्थापना भएको क्रेडिट स्वीस बैंकले विश्वभरका धनाढ्य मानिसहरुको निक्षेप संकलन गर्ने गरेको छ । विभिन्न समयमा मनी लन्ड्रीङका कारण विवादमा आइरहने बैंकले सन् २०२२ मा मात्रै ७ अर्ब ९० करोड अमेरिकी डलर गुमाएको थियो ।

हालै बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा बैंकमा ठूलो मात्रामा घोटाला भएको थाहा भएपछि लगानीकर्ताहरुले बैंकको सेयर तीव्र गतिमा बिक्री गरेका थिए ।

बैंक स्वायत रुपमा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि बैंक अधिग्रहणको विषय अघि बढेको थियो । युबीएस बैंकले ३ अर्ब २० करोड अमेरिकी डलरमा बैंक खरिद गर्ने भएको हो । सन् २०२३ को मार्च १७ सम्ममा क्रेडिट स्वीस बैंकको नेटवर्थ ६ अर्ब २६ करोड अमेरिकी डलर थियो । विगत ३ दिनमा बैंकको सेयर मूल्यमा आएको गिरावटका कारण बैंकको अस्तित्व मेटिन पुगेको छ ।