बैंकिङ खबर/नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन्।
तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको बताए ।
मल्लले आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । उद्योग–व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुआती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ थियो।
मल्लले अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने बताए। अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई आग्रह गरे। स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने उनले बताए।