
बैंकिङ खबर/भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा घरजग्गा कारोबारमा गिरावट आएको छ । गत माघमा देशभरका मालपोत कार्यालयबाट ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको थियो । माघको तुलनामा फागुनमा किनबेच बढ्ने सबैले अनुमान गरेका थिए । तर, फागुनमा भने कारोबार झनै घटेको विभागको भनाइ छ ।
फागुन महिनामा देशभरको मालपोत कार्यालयबाट ४० हजार ७३४ घरजग्गा किनबेच भएको छ । जुन माघको तुलनामा ३५२ ले कमी हो । फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ४० हजार घरजग्गा लिखत पारित हुँदा ३ हजार ५३८ वटा घरजग्गा नामसारी, ४ हजार २३३ संशोधन, ३० हजार ८५० रोक्का, २२ हजार फुकुवा र १३ सय २७ वटा घरजग्गा दाखिला खारेज गरेका छन् ।
फागुन महिनामा सबैभन्दा बढी मालपोत कार्यालय नेपालगञ्जबाट भएको छ । उक्त मालपोत कार्यालयबाट फागुनमा १ हजार ६०९ वटा घरजग्गा किनबेच भएको छ ।
त्यस्तै, इनरुवा सुनसरीबाट १ हजार ५४७ वटा, जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५३३ वटा, बेलबारी मोरङबाट १२ सय ७५ वटा, राजविराज सप्तरीबाट ११ सय ९२ वटा, भक्तपुरबाट ११ सय १३ वटा, तौलिहवा कपिलवस्तुबाट १ हजार ८७ वटा, भद्रपुर झापाबाट १ हजार ७७ वटा, लगनखेलबाट १ हजार ३१ वटा र विराटनगर मोरङबाट १ हजार २७ वटा घरजग्गा किनबेच भएको छ ।
फागुनमा माघको तुलनामा कारोबार घटेसँगै राजस्व संकलन पनि घटेको छ । विभागको तथ्याङ्कअनुसार फागुन महिनामा ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
गत माघमा विभागले ३ अर्ब ७५ करोड ८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । फागुन महिनामा साढे ३ अर्ब राजस्व संकलनमध्ये देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत १९ करोड ९९ लाख रुपैयाँ, बागमतिबापत ८ करोड ५४ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, पूँजीगत लाभकरबापत १ अर्ब ३ करोड १७ लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५५ लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा २९ करोड २३ लाख रुपैयाँ राजस्व छुट दिएको छ ।
देशभरका मालपोत कार्यालयमध्ये फागुनमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले ३२ करोड १५ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, भक्तपुर मालपोत कार्यालयबाट २२ करोड ९० लाख रुपैयाँ, कलंकीबाट १८ करोड ७६ लाख रुपैयाँ, चावहिलबाट १६ करोड ८८ लाख रुपैयाँ, डिल्लीबजारबाट १४ करोड ५२ लाख रुपैयाँ, कास्कीबाट १२ करोड ७५ लाख रुपैयाँ र चितवन मालपोतबाट ८ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
पछिल्ला दिनहरुमा कित्ताकाट भने निरन्तर बढेको पाइएको छ । गत माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता कायम भएकोमा फागुनमा ३ हजार बढी जग्गाको कित्ताकाट भएको छ । फागुन महिनामा देशभर रहेका २७ हजार ३१ वटा जग्गा वर्गीकरण गरी ६० हजार ३६१ कित्ता कायम भएको छ ।
गत पुसमा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको थियो । विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ ।
त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको र कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थियो भने मंसिरमा भने देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको विभागले जनाएको छ ।




