Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तहरुको निष्क्रिय कर्जाको अनुपात बढ्यो(पूर्णपाठ)

२०७९ फाल्गुन ३० गते

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा बढेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन’ ले २०७९ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको देखाएको हो ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ३.१७ प्रतिशतले वृद्वि भई २०७९ पुस मसान्तमा रू. ५९ अर्ब ७८ करोड पुगेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा रु. ५२ करोड अर्थात ०.८७ प्रतिशत मात्र रहेको छ । २०७९ असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो ।

समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेको थियो भने सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो ।

२०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ०.०८ प्रतिशतले घटेर २०७९ पुस मसान्तमा रू.३ खर्ब ९१ अर्ब ४४ करोड पुगेको देखिन्छ ।

यसैगरी २०७९ पुस मसान्तमा निष्क्रिय कर्जा रु.१८ अर्ब ३४ करोड अर्थात ४.६८ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो।

२०७९ पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाहरुले २०७९ पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०७९ असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.९६ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

२०७९ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०७९ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा १६.८७ प्रतिशतले बढेर रू. १ अर्ब २७ करोड पुगेको छ ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ४४.७७ प्रतिशतले वृद्वि भई रु. २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रोत्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ११.२५ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम १.७३ प्रतिशतले घटेको थियो।

२०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा उल्लेख्य वृद्धि भएको छ । २०७९ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ३५.६२ प्रतिशतले बढेर रू. १४ अर्ब ४० करोड पुगेको छ ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ७०.२२ प्रतिशतले वृद्वि भई रु.८ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ७.५४ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम १०.४५ प्रतिशतले बढेको थियो।