बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा रहेको १० प्रतिशत भन्दा माथिको सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९.५ प्रतिशत सेयर स्वामित्व कायम राखेर अरु सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय भएको हो ।
हाल नेप्सेमा राष्ट्र बैंकको १४.६० प्रतिशत सेयर स्वामित्व छ । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर हिस्सा छ भने कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र धितोपत्र दलाल व्यवसायीहरूको ०.६२ प्रतिशत सेयर छ ।
नेपाल राष्ट्र बैंक ऐनमा २०५८ दोस्रो संशोधनले राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने गरी व्यवस्था गरेको थियो । जसअनुसार यसअघि नै राष्ट्र बैंकले २० प्रतिशत सेयर बिक्री गरिसकेको छ । अहिले १० प्रतिशतभन्दा बढी रहेको सेयर स्वामित्व केन्द्रीय बैंकले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्न लागेको हो ।
नेप्सेमा राष्ट्र बैंकको ३४.६ प्रतिशत सेयर थियो । २०७४ मा राष्ट्र बैंक ऐन संशोधन भएपछि ०७६ भदौमा राष्ट्र बैंकले २० प्रतिशत सेयर बिक्री गरिसकेको छ । नेपाल राष्ट्र बैंक ऐन दोस्रो संशोधन–२०७३ मा राष्ट्र बैंकले कुनै पनि कम्पनीमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था छ ।