Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुले ब्याजदर घटाउने

२०७९ फाल्गुन २९ गते

बैंकिङ खबर/केहि दिन अघि मात्रै वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णयसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को सोमबार बसेको बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत बिन्दुसम्म घटाउने निर्णय गरेको अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए ।

फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.७५ प्रतिशत कायम भएको थियो । चैत १ गतेदेखि भने १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ। यस्तै, एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम भएको छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो ।

यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए। यस्तै, डिबानले बचतको ब्याजदर पनि घटाएको छ ।

बचतको ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतमा भने न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ ।