March 9th, 2023

तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गरौंः अर्थविद् डा. वाग्ले

बैंकिङ खबर/अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताए ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आउँदो वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । प्रा.डा. वाग्लेले देशको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भीर प्रश्न उठेको बताए ।

उनले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरु आइरहेको दाबी गरे । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको पनि उनले बताए । उनले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्नेभन्दा बाहेक केही नभएको बताए ।

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरुले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताए । उनले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरुले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताए ।