February 13th, 2023

बीमाको लोभमा चालकले नै लगाए गाडीमा आगो

बैंकिङ खबर/बर्दिया मधुबन नगरपालिका–०४ बसन्तामा बीमा दाबी गर्न चालकले आफैले गाडीमा आगो लगाएको खुलेको छ । माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स  गाडीमा  आइतबार राति आगलागी भएको थियो ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोली जाँदा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा जली नष्ट भएको अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा कुनै पनि ब्यक्ति नरहेको सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सवारी साधनको चालक बर्दिया मधुबन नगरपालिका–०२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफैले गाडीमा आगो लगाएको खुल्न आएको हो ।

उक्त गाडी बिग्रिएकोले मर्मतको लागि बढी रकम लाग्ने हुँदा चालकले गाडीमा आगो लगाई बीमा दाबी गर्ने मनसायले आइतबार राति आगो लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । चालक चौधरीले डिजल छर्की आगो लगाई आफ्नो घरतर्फ गएको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।