February 12th, 2023

सहकारीमा समस्या होइन, चुनौती छः रजिष्ट्रार घिमिरे

बैंकिङ खबर/सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन नभइ चुनौती रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँगको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न आग्रह गरे ।

‘कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ, कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ, रजिष्ट्रार घिमिरेले भने ।

सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरे ।

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराएका थिए ।

सहकारी विभागमा हालै आएका रजिष्ट्रार नमराज घिमिरेलाई बैंकको सञ्चालक समितिका तर्फबाट स्वागत गरिएको थियो । अध्यक्ष उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल लगायत सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा रजिष्ट्रार घिमिरे र उपरजिष्ट्रार उपाध्यायलाई स्वागत गरेका थिए ।