
बैंकिङ खबर/ सप्तरीमा रहेको एनआइसी एसिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको खुलेको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो ।
प्रबन्धक यादवले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेका छन् । किर्ते जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा नम्बर ७) की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ ।
उक्त जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ । तर, प्रबन्धक यादवले खातुनलाई जग्गाधनी बनाई एनआइसी एसिया बैंक राजविराज शाखाबाट आइतबार रोक्का नम्बर १५१२०९८०एनएल०००२२९० मा जग्गा रोक्का गरिएको छ।
शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खाँनले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् ।
यस्तै, एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।
प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको बताए । एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफूलाई जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारबाही हुने बताए ।
यता कानुनी प्रक्रियाअनुसार दृष्टिबन्धक नै नगरी बाहिरै फाइल बनाई मालपोत कार्यालयको छाप र दस्तखतसमेत किर्ते गरेको विषय सार्वजनिक भएपछि सप्तरी प्रशासनले चासो लिएको छ । यस प्रकरणमा मालपोत कार्यालयको छाप र दस्तखत किर्ते गरिएकाले आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको सप्तरी मालपोतका प्रमुख शर्माले बताए ।
सरकारी छाप दस्तखत गरी किर्ते कार्य गरिएको जानकारी मालपोत कार्यालयका प्रमुखबाट आएको र उक्त काममा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको भनाइ छ ।