
बैंकिङ खबर/आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । शुक्रबार दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा आइएमई जनरलका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।
क्रस होल्डिङ भएका दुई कम्पनीबीच मर्जरमा जान नेपाल बीमा प्राधिकरणले समेत दबाव दिदै आएको थियो । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ। नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष सूर्य प्रसाद सिलवालको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरूलगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।


