
बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सहकारी र लघुवित्तमा तरलता सहज नहुँदासम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको कार्यक्रममा गोल्छाले तल्लो तहमा तरलता सहज नहुँदासम्म बजारमा माग नबढ्ने र माग नबढ्दासम्म बजारमा आर्थिक गतिविधि बढ्न नसक्ने बताए ।
कोरोना महामारीपछि अत्याधिक कर्जा प्रवाह हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको गोल्छाले बताए । सीसीडी रेसियोबाट सीडी रेसियो, आयात प्रतिबन्ध, चालू पुँजी कर्जा सम्बन्धी नीतिले अर्थतन्त्र संकटमा पर्नबाट जोगाए पनि अर्थतन्त्र चलायमान बनाउन नियामक निकायले सहजीकरण गर्न नसक्दा अहिले बजार चलायमान हुन नसकेको गोल्छाको भनाइ छ । क वर्गका बाणिज्य बैंकले मात्रै नभई सहकारी र लघुवित्त संस्थाबाट सहजै कर्जा लिन मिल्ने वातावरण बनाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने गोल्छाले बताए ।