February 7th, 2023

सम्पत्ति शुद्धीकरणका लागि फास्टट्रयाक विधिबाट १८ कानून संशोधन गरिँदै

बैंकिङ खबर/सम्पत्ति शुद्धीकरणका लागि फास्टट्रयाक विधिबाट १८ वटा कानुन संशोधन अघि बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरणका लागि आवश्यक हुने कानुनहरु एकैपटक केही नेपाल ऐनमार्फत् संशोधन गर्ने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ का केही व्यवस्थाहरू संशोधन गर्नका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई द्रुतगतिमा अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेसँगै प्रतिनिधि सभामा पेस गरिने छ । केही दिनअघि नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल पनि सम्पत्ति शुद्धीकरण ऐन तत्काल पेस गर्न माग गरेका थिए। आइतबार प्रतिनिधि सभाको बैठकमा उनले मुलुक नै कालोसूचीमा पर्नबाट जोगाउने विधेयकलाई छिटो पारित गर्न आग्रह गरेका थिए।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को कालोसूचीमा परेकै कारण विश्वका केही राष्ट्रहरूले ठूलो संकट सामना गरिरहेकाले हाम्रो जस्तो रेमिट्यान्समा निर्भर देश ‘ग्रे जोन’ मा परेर अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र वञ्चित हुनबाट राष्ट्रलाई जोगाउनुपर्नेमा उनको जोड थियो।

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्ले गतसाता सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई द्रुतगति (फास्ट ट्र्याक)मा अघि बढाउने निर्णय गरेको थियो। वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानुन निर्माण गर्न नसक्दा नेपाल कालोसूचीमा पर्ने जोखिम बढेको छ।