
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा सुधारको संकेत देखा परिसकेको बताएका छन् । बोर्डको कार्यसम्पादन, निष्कासन अनुमित प्रक्रिया र विद्यमान अवस्था सम्मबन्धी सोमबारको कार्यक्रममा बोल्दै उनले पूँजीबजारको इको सिस्टममा लगानीकर्ताको पक्षमा लड्नै पर्छ भनेर केही साहसिक काम गरेको बताए । कुनै पनि नीतिले दुवै पक्ष खुसी हुन नसक्ने भन्दै उनले बोर्डले ल्याएको नीतिले टीएमएस र ब्रोकर प्रणाली बलियो बनाएको दाबी गरे ।
७ वटा कम्पनीलाई एकै पटक भेञ्चर क्यापिटलको लाइसेन्स दिएको भन्दै उनले यसलाई सुशासनको नमुना भएको बताए । नेपालको धितोपत्र बजारको इतिहासमा पहिलोपटक भित्रि कारोबारको अनुसन्धानका लागि तहकिकत अधिकारी तोकेर अनुसन्धान सुरू भएको उनले बताए ।
धितोपत्र बजारको पुनर्संरचना देखेर लगानीकर्ता खुसी भएको भन्दै उनले लगानीकर्ताको संरक्षणका लागि जुनसुकै साहसिक कदम लिने र त्यसका लागि बोर्डले काम गर्ने बताए ।



