January 31st, 2023

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता

बैंकिङ खबर/ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच दुवै कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका हुन् ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे । सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहनेछ । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति र सम्पत्री तथा दायित्वको विस्तृत मूल्यांकन (डीडीए रिपोर्ट) का आधारमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० : ८० कायम हुने सम्झौतमा उल्लेख छ ।

हाल १०० कित्ता सेयर रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीको मर्जरपछि बन्ने कम्पनीमा ८० कित्ता सेयर हुनेछ भने सगरमाथा इन्स्योरेन्स कम्पनीका सेयरधनीको १०० कित्ता नै हुनेछ । दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात् स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट चंकी क्षेत्री रहने भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]