
बैंकिङ खबर/ मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गरेको छ ।
यसमा आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार कित्ता निष्कासन गरेको छ। स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ २९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले भने छिटोमा माघ २९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन १५ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले दोलखास्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाण्डौस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ। यो हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
यसैबीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । ७ मेगावाटको क्षमता रहेको यस आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ८.१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.५ वर्ष रहेको छ।