Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नयाँ प्रकारका बीमा योजना ल्याउन प्राधिकरणको निर्देशन

२०७९ माघ ६ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले नयाँ प्रकारका बीमा योजना ल्याए मात्र बीमा बजार बढ्ने बताएका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक–अर्काको बिमालेखको नक्कल नगरी नयाँ–नयाँ बिमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई निर्देशन दिए ।

हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले ठूला जलविद्युत्लगायत संरचनाहरूको बीमा गराउन कम्पनीहरूबाट पनि प्रयास हुनुपर्नेमा जोड दिए । त्यस्तै, कम्पनीहरूले आफूले आर्जन गरेको रकमको २ प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्न उनले निर्देशन दिए । पाँच वर्षभित्र बिमा व्यवसाय दोब्बरले वृद्धि गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भएबमोजिम एक बिमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बिमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बिमा अभिकर्तालाई कामबाट अलग गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बिमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफँैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने बताए ।