
बैंकिङ खबर/अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र मन्दीमा जाने देखिएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले भने, ‘सन् २००८ मा विश्वमा आर्थिक मन्दी देखिएको थियो । सन् २०२३ देखि नीतिगत समन्वय गर्न नसक्ने हो भने अर्थतन्तन्त्र झनै तल खस्किने अवस्था देखिएको छ ।’
‘नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष वैदेशिक लगानी, निर्यात, पर्यटनमा कम निर्भर छ, मुख्य स्रोत रेमिट्यान्स हो । जुन सन्तोषजनक देखिएको छ,’ उनले भने, ‘ हामी केही जोगिन सक्छौं । हाम्रो क्षेत्रीय अर्थतन्त्रका कारण त्यति जोखिम भने नहोला ।’
उनले नेपाल भित्र उठाएको राजस्वले चालू खर्च धान्न सक्ने देखिएको अवस्था देखिए पनि अनुदान भने सोचेजस्तो उठाउन नसकेको बताए । ‘ऋण बढ्दैछ, ५५ अर्ब अनुमान गरेको अनुदान ५ अर्ब उठेको छ, आगामी बजेटमा यति ठूलो अनुमान नगरौ,’ उनले भने, ‘चालु खर्च तीब्र छ, पूँजीगत खर्च कम छ, यो चिन्ताजनक अवस्था हो, थाती राखेका सुधारका काम गर्नुपर्छ ।’
उनले सामाजिक सुरक्षामा मात्रै २ खर्ब खर्च हुने भन्दै त्यसलाई थेग्न नसकिने बताए । सामाजिक सुरक्षामा हुने खर्चलाई विश्लेषण गर्न आवश्यक रहेको उनले बताए । उनले खर्च पुनरवलोकन आयोगका सुझाव सम्बोधन गर्नुपर्ने, सार्वजनिक संस्थान रिफर्म गर्नुपर्ने बताए । ‘समग्र बजेटको आकार किन बढायौ ?,’ उनले भने, ‘यसलाई विश्वसनीय बनाउँदै राजस्व र खर्चलाइ यथार्थपरक बनाउनुपर्छ ।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई राजस्व बढाउने, खर्च घटाउने गरि टाक्स फोर्स बनाएर काम गर्न सुझाव दिए ।