Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निजी क्षेत्रमा कर्जाको वृद्धिदर कमजोर

२०७९ पुष २९ गते

बैंकिङ खबर/चालू आर्थिक वर्षमा प्रवाहित कर्जाको वृद्धिदर कमजोर देखिएको छ । चालू आर्थिक वर्षको ५ महिना अवधीमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३० करोड (१.६ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ खर्ब २३ अर्ब १३ करोड अर्थात् १०.४ प्रतिशत ले बढेको थियो ।
२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.४ प्रतिशतले, विकास बैंकहरुको ३.८ प्रतिशतले र वित्त कम्पनीहरुको०.५ प्रतिशतले बढेको छ। २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७८ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.३ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ३.५ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ६.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ९.४ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.० प्रतिशतले र मार्जिन प्रकृति कर्जा ६.७ प्रतिशतले घटेको छ।