
बैंकिङ खबर/फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर, काठमाडौंले आइतबार संस्थाको तेह्रौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका तथा विपन्न वर्गका छोरा छोरीलाई पोशाक तथा पठन पाठन सामग्री वितरण गरेको छ ।
काठमाडौं डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत ४० जना छात्रालाई खेलकुद पोशाक र काठमाडौंकै टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयका ४० जना छात्र/छात्रालाई कपि, कलम, ज्यामिती बक्स, झोला वितरण फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल लगायत संस्थाका कर्मचारीहरु सम्बन्धित विद्यालयमा नै गई हस्तान्तरण गर्नुभएको हो ।
उक्त अवसरमा पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयकी प्रधानाध्यपक रीता तिवारीले फस्र्ट माइक्रोफाइनान्सको यस प्रकारको सहयोगले यस विद्यालयमा अध्यनरत छात्राहरुलाई खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा लाग्न प्रेरणा मिलेको धारणा राख्दै भविष्यमा पनि फस्र्ट माइक्रोफाइनान्सबाट यस प्रकारको सहयोगको अपेक्षा राख्नुभयो ।
त्यसैगरी टङ्गाल माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यपक पुरुषोत्तम खड्काले फस्र्ट माइक्रोफाइनान्सले आफ्नो विद्यालयमा अध्ययनरत न्यून आय भएका तथा विपन्न वर्गका छोरा छोरीलाई सहयोग प्रदान गरेकोमा फस्र्ट माइक्रोफाइनान्स परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
उक्त दुबै कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले सामुदायिक विद्यालयमा अध्यनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाइका साथ साथै खेलकुद जस्ता क्रियाकलापमा गरेको सहयोगवाट विद्यार्थीहरुमा हौसला र उत्साह थपिने भएकाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारको सहयोग प्रदान गरेको विचार व्यक्त गर्नुभएको थियो ।




