
बैंकिङ खबर/जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले नीतिमार्फत् बिमा कम्पनीहरुले लगानी गर्न सक्ने क्षेत्र फराकिलो भएकाले अब जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न उनले निर्देशन दिए ।
‘प्राधिकरणले बिमा क्षेत्रको लगानी विविधिकरणका लागि निर्देशिकाहरु जारी गरेको छ,’ उनले भने, ‘यसबाट जलविद्युत्लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बिमा कम्पनीहरुले लगानी गर्ने बाटो खुलेको छ । कम्पनीहरुले सहायक कम्पनी बनाएर पनि लगानी गर्न सक्ने व्यवस्था निर्देशिकामा छ ।’ कम्पनीहरुले लगानीयोग्य रकम बैंकमा मुद्दती निक्षेपमा राखेर महँगो ब्याज आर्जन गरिरहेको बेला प्राधिकरणका अध्यक्ष सिलवालबाट उक्त निर्देशन आएको हो ।
अध्यक्ष सिलवालले जनताको हितका लागि गाउँपालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नै पर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने पनि बताए । ‘हाल बिमा क्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बिमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बिमा नीति कार्यान्वयमा आएपछि सरकारका लागि समेत बिमा बाध्यकारी बन्छ,’ उनले भने, ‘प्रदेश र पालिकाहरुले पनि बिमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्न सक्छौं ।’ सरकारले आफ्नो जिम्मेवारी बाहेकका आर्थिक जोखिम बिमामार्फत बिमा कम्पनीहरुमा हस्तान्तरण गर्नुपर्ने पनि उनले बताए ।