
बैंकिङ खबर/नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का वेटिङ प्रेसिडेन्ट सुनिल केसीले नेपालको बैंकिङ क्षेत्रमा सुनौला दिन आउन लागेको बताउनुभएको छ ।
हाल बैंकिङ क्षेत्र केही सकसमा देखिए पनि निकट भविष्यमै सुनौला दिनहरु आउने उहाँको भनाइ छ । एनसीसी र कुमारी बैंक मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ समारोहलाई आइतबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले हामी अप्ठ्यारो अवस्थामा भए पनि नेपालको बैंकिङका लागि सुनौला दिनहरु आउँदैछन् । अवसरका धेरै ढोकाहरु खुल्दैछन् । नेपालमा ठूला–ठूला पूर्वाधारको विकास हुन बाँकी नै छ । त्यस्ता ठूला अवसरहरुमा अब बलियो बनेका बैंकहरुले नै लगानी गर्ने अवसर पाउनेछन् । सोहीअनुसार लगानीकर्ताले पनि आकर्षक रिटर्न पाउने दिन आउनेछ ।’
उहाँले मर्जरपछि बलियो बनेका बैंकहरुको भविष्य झनै सुनौलो देखिएको दाबी गर्नुभयो । यी दुई बैंकले मर्जरका लागि एमओयू गरेको ६५ कार्यदिनमै एकीकृत कारोबार गरी रेकर्ड बनाएका हुन् । केसी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।