Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कमजोर अनुगमन र अनुत्पादक क्षेत्रमा लगानी, सहकारीमा बढ्दो जोखिम

२०७९ पुष १४ गते

 

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर काठमाडौंले आफ्ना साझेदार सहकारी संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत/व्यवस्थापकसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम २०७९ काठमाडौंमा सम्पन्न गरेको छ ।

सहकारीमा विद्यमान सवाल तथा चुनौती विषयक उक्त अन्तरक्रियामा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का ऋणी साझेदार सहकारी संस्थाका ३० जना सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत÷व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियामा सहकारीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुले हाल सहकारी सञ्चालनमा देखा परेका समस्या तथा चुनौतीहरु र सो को समाधानका उपायका वारेमा आ आफ्नो संस्थाले गरेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।

सो अन्तरक्रिया कार्यक्रमको पहिलो सेसनमा पेनालिष्ट वक्ताका रुपमा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. झापाका कार्यकारी प्रमुख महेन्द्र गिरी, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. कैलालीका महाप्रबन्धक डम्बर बहादुर शाह र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत के.बी. लामाले सहभागीले राखेका समस्याहरुमा आफ्नो संस्थाले गरेका पहल तथा समाधानका उपायबारे प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमको दोश्रो सेसनमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल पेनालिष्टका रुपमा रहनुभएको थियो ।

सहभागीहरुबाट प्रस्तुत गरिएका सहकारी सम्बन्धी विद्यमान समस्या तथा चुनौतिलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीले संस्थाका सदस्यहरुको मन जित्ने गरि सेवा प्रदान गरेमा सहकारी प्रतिको विश्वास कायम रहनेमा जोड दिनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले गाडी, घोडा र घर जग्गामा बढी लगानी गरेको र सो को मूल्य सधै उकालो लागिरहन्छ भन्ने सो क्षेत्रमा संलग्न सहकारीका सञ्चालकहरुको सोचाइले गर्दा सहकारीमा जोखिम बढ्दै गइरहेको, सहकारी संस्थाको गतिविधिमा सदस्यहरुको उदासिनता तथा संस्थालाई नियन्त्रण गर्नुपर्ने भूमीका कमजोर हुँदै गएकाले केही संस्थामा सञ्चालकको निहित स्वार्थका लागि सहकारी प्रयोग भैरहेकाले सो तर्फ सजग हुनुपर्नेमा जोड दिनु भएको थियो ।

हाल सहकारीमा जनमानसको गिर्दो विश्वासलाई सहकारीले गरेका राम्रा कार्यहरु र सदस्यहरुलाई प्रदान गरेका फरक खालका सेवा तथा लाभहरु प्रचार प्रसारमा ल्याउन नसक्नु रहेको धारणा उहाँले राख्नु भएको थियो ।

स्थानीय निकाय स्तरको कार्यक्षेत्र भएका सहकारीको अनुगमन फितलो भएकाले सहकारी क्षेत्रमा समस्या बढ्दै गईरहेको भन्ने सहभागीहरुले उठाएको समस्यामाथि प्रकाश पार्दै उहाँले सहकारीलाई संघीय प्रणालीमा लैजानु नै गलत भएको र हिजोका डिभिजन सहकारी कार्यालयहरु खारेज गर्नु अव्यवहारिक भएको बताउनुभयो ।

अबका दिनमा सहकारी संस्थाका स्थलगत अनुगमनलाई घटाई डिजिटल अनुगमनमा जोडदिनु पर्ने र जोखिमका आधारमा सहकारी संस्थालाई वर्गिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले चुनौतिको सामना गरेर नै काम गरेको परिणाम प्राप्त हुने भएकाले समस्यावाट विचलित नभई कार्य गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

फस्र्ट माइक्रोफाइनान्सले पनि सहभागीहरुले राखेका समस्या समाधानका लागि सम्बन्धित निकायहरुमा पहल गरिरहेको बताउँदै सहभागीहरुलाई धन्यवाद दिई कार्यक्रमको समापन गर्नुभएको थियो ।

Ad