Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्न विभागले गरायो सचेत

२०७९ पुष १२ गते

बैंकिङ खबर/आन्तरिक राजस्व विभागले बैंक तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आग्रह गरेको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो ।

विभागले कर रकम भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन भुक्तानी प्रणालीबाट मात्र हुने व्यवस्था रहेको भन्दै बैंक काउन्टरबाहेक राजस्व कार्यालय तथा कुनै व्यक्ति र स्थानबाट नगद राजस्व बुझ्ने व्यवस्था नरहेको स्पष्ट पारेको छ ।

विभागले करदातालाई आफ्नो कारोबारसँग सम्बन्धित हिसाव किताव अद्यावधिक राख्न भनेको छ । बिल–बिजक जारी गरेर मात्र व्यवसाय सञ्चालन गर्न समेत सचेत गराएको छ । साथै विभागले बिक्रेता, खरिदकर्ता–उपभोक्तालाई समेत आफूले खरिद–बिक्री गरेको वस्तु र सेवाको वास्तविक कारोबार मूल्य अनुसारकै बिल लिन र दिन समेत अनुरोध गरेको छ ।

विभागका अनुसार अहिले राजस्व चुहावट नियन्त्रणका लागि बजारमा अनुगमन तीब्र बनाएको बताएको छ । बजार अनुगमनका लागि आन्तरिक राजस्व विभाग मातहतका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट कर अधिकृतसहितको टोली खटाइएको छ । अनुगमनमा कर परिपालना सम्बन्धी कागजात जाँच तथा रुजु गर्ने, कर सम्बन्धी विषय जानकारी गराउने कर परिपालना गरेको नपाइएमा कानुन अनुसार कारबाही समेत गरिने विभागको भनाइ छ ।

Ad