Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदर नियन्त्रण पहिलो प्राथमिकता: ‘व्यवसायी’ सांसद

२०७९ पुष ८ गते

बैंकिङ खबर/ व्यवसायीसमेत रहेका नवनिर्वाचित सांसदहरुले बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेकाले उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने बताएका छन् । शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताए । उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, पुँजीगत खर्च ३५ प्रतिशत भन्दा कम हुने, कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए ।

बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । उनले पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय प्रक्रियामा काम गर्नुपर्ने बताए । उनले भने,‘ बजारमा तरलता अभाव रहेको अवस्था छ । बजेट ३५ प्रतिशत भन्दा कम उठेको स्थिति छ । ऋण लिएर कर्मचारीहरुको तलब धान्नुपर्ने स्थिति छ ।

अहिले अत्याधिक मात्रामा उत्पादन घटेको अवस्था र बैंकको ब्याजदर बढ्नाले प्राय सबै उद्योग व्यवसायहरु चल्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तै ५० देखि ६० हजार युवाहरु नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकताका आधारमा विदेश गइरहेको अवस्था छ। १ खर्ब भन्दा बढी वार्षिक धान्न नसक्ने खर्च लगायत समस्याहरु रहेका छन्। यी समस्याहरु तत्काल सरकार गर्न सकिएन भने देशको अर्थतन्त्रले धान्न सक्दैन। त्यो समस्या समाधान गर्ने प्रतिनिधि पात्र म पनि हो ।’

व्यवसायी समेत रहेका नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हितका लागि काम गर्ने बताए ।
उनले भने,‘प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण पश्चात संसदमा प्रवेश गर्ने ढोका खुलेको छ। मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हीतका लागि काम गर्नेछु।’
त्यस्तै, मेडिकल व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताए । उनले कानून निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा पहल गर्ने बताए । उनले आगामी पाँच वर्षमा सबै भन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने बताए ।

त्यस्तै, शेयर लगानी कर्तासमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताए । उनले शेयर बजारको बिस्तार विकासको लागि नियमन निकायहरुले बनाउन नसकेका नीतिगत व्यवस्थाहरु बनाउन पहल गर्ने बताए।
त्यस्तै,अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रुपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताए । उनले बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताए। उनले संसदमा ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताए ।

Ad