December 22nd, 2022

राष्ट्र बैंक अगाडि व्यवसायीको धर्ना

बैंकिङ खबर/चर्को ब्याजदरको विरोधमा मोरङका व्यवसायिहरुले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य कार्यालयमा उनीहरुले धर्ना दिएका हुन् । उनीहरुले बिहीबार विराटनगर बजार बन्दको आह्वान समेत गरेका छन् ।

व्यवसायीले राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि रोकेका छैनन् । तर नगद बोकेका गाडीको आवतजावत भने ठप्प पारेका छन्। धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । सीएनआइ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाउनुभयो । अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू चोरी खान पल्किएको टिप्पणी गर्नुभयो ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा स्प्रेड दर ४ प्रतिशत बनाउने भनिए पनि त्यसलाई किन कार्यान्वयन गरिएन भन्दै आक्रोश पोख्नुभयो । व्यवसायीले शुक्रबार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]