
बैंकिङ खबर/ बैंकिङ क्षेत्रमा पछिल्लो समय शंकास्पद कारोबार गर्नेको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा शंकास्पद कारोबार गर्नेको संख्या ४ गुणाले बढेको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा शंकास्पद कारोबार २ हजार ७८० वटा भएका थिए ।
आर्थिक वर्ष २०७४/७५ मा ८८७ वटा शंकास्पद कारोबार भएका थिए । जसमा ८१६ वटा शंकास्पद कारोबारको विश्लेषण गरिएको थियो । कानून कार्यान्वयन निकायमा कारवाहीका लागि ३१२ वटा शंकास्पद कारोवार पठाइएको थियो । सोही वर्ष ५०४ वटा कारोबार तामेलीमा राखेको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा १ हजार ३५१ वटा, २०७६/७७ मा १०९० वटा, २०७७/७८ मा १ हजार ५३३ र २०७८/७९ २ हजार ७८० वटा शंकास्पद कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जसमध्ये आर्थिक वर्ष ०७५/७६ मा ६७७ वटा, २०७६/७७ मा ७९० वटा, २०७७/७८ मा ६४० वटा र २०७८/७९ मा १०६८ वटा शंकास्पद कारोबारको विश्लेषण गरिएको थियो ।
विद्यमान बैंकिङ व्यवस्थाअनुसार कुनै पनि खातामा १० लाख बढी रकमको कारोबार गर्दा श्रोत खुलाउनु पर्ने हुन्छ । तर, श्रोत नै उल्लेख नगरिकन लाखौंको कारोबार हुन्छ भने शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्टिङ गर्छ । यदि कुनै खाता लामो समयदेखि निष्क्रिय छ । तर, एक्कासी ठूलाठूला कारोबार हुन थाल्यो भने त्यो पनि शंकास्पद हुनसक्छ ।
कुनै व्यक्तिको खातामा विदेशबाट ठूलो रकम जम्मा हुन सक्छ । विदेशबाट आएको रकमको श्रोत खुल्न सकेन भने त्यसलाई शंकास्पद कारोबारका रुपमा बैंकले रिपोर्ट गर्ने गरेका छन् ।
शंकास्पद कारोबारको प्रतिवेदन राष्ट्र बैंक समक्ष पेस निर्देशन
नेपाल राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन सक्ने व्यक्तिको खाता नखोल्न र खोलेको भए बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।
थप गरिएको व्यवस्थाअनुसार प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने उल्लेख छ। यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पेस गर्ने निर्देशन दिइएको छ।
कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागि त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्नेछ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले यस निर्देशनअन्तर्गत तर्जुमा गरिएको नीति तथा कार्यविधिमा आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्नुपर्नेछ। साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को परिच्छेद ६ख. मा उल्लेखित व्यवस्था पालना हुने गरी आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नका लागि कार्यप्रणाली अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।




